काठमाडौं १८ चैत्र ।
नेपाली कांग्रेसको २०७८ भदौका लागि तय भएको १४औं महाधिवेशन लक्षित क्रियाशील सदस्यता वितरण र नवीकरण सम्बन्धी निर्धारित कार्य तालिका प्रभावित बनेको छ । कांग्रेसले गत १० चैतसम्मका लागि नयाँ सदस्यता वितरण र नवीकरणको समय निर्धारण गरेको थियो । बुधवारसम्म नयाँ सदस्यता वितरण र नवीकरण गरी करिब पाँच लाख क्रियाशील सदस्यताको विवरण अनलाइन प्रणालीमा इन्ट्री भएको कांग्रेसले जनाएको छ । यो सङ्ख्या कांग्रेसले लक्ष्य राखेको भन्दा आधा हो ।
कांग्रेसले यसअघि आफ्ना सदस्यको विवरणलाई कागजी रूपमा अद्यावधिक गर्ने गरेकोमा यस पटकदेखि विद्युतीय माध्यममार्फत व्यवस्थित गर्ने नीति लिएर सोही अनुसार प्रणालीमा इन्ट्री गर्दै आइरहेको छ । कांग्रेसले आगामी १४औं महाधिवेशनमा क्रियाशील सदस्यको सङ्ख्या करिब १० लाख पुर्याउने लक्ष्य राख्दै आएको छ ।यसअघि १३औं महाधिवेशनमा देशभर गरी कांग्रेसका ४ लाख ७० हजार क्रियाशील सदस्य थिए । कांग्रेसले सो सङ्ख्यालाई दोब्बर बनाउने नीति अनुसार धमाधम सदस्यता वितरण र नवीकरणको काम गरिरहेको छ ।
क्रियाशील सदस्यता छानबिन समितिका सदस्य आनन्द ढुंगानाले ६८ जिल्लाको सदस्यता इन्ट्री जारी रहेको र मङ्गलवारसम्म करिब ५ लाखको हाराहारीमा नयाँ तथा पुराना सदस्यको विवरण अनलाइन प्रणालीमा इन्ट्री भएको जानकारी दिए । ‘६८ जिल्लाबाट नयाँ तथा पुराना सदस्यता इन्ट्रीको काम धमाधम भइरहेको छ, यो काममा २ सय ७० जना खटिएका छन्, केही जिल्लाले समय सीमा भित्र विवरण नपठाएपछि पुनः समय थप गर्ने विषयमा छलफल हुँदै छ,’ समितिका सदस्य ढुंगानाले भने ।
समितिका सदस्य प्रदीप पौडेलले सबै जिल्लाबाट सदस्यता सम्बन्धी विवरण प्रणालीमा इन्ट्री भएपछि छानबिनको प्रक्रिया थालिने बताए । कतिपय जिल्लाबाट विवरण नै नआएको भन्दै पौडेलले पुनः समय थप गर्नु पर्ने अवस्था आएको जानकारी दिए । पार्टीले तोकेको निर्धारित समय भित्र सदस्यताको विवरण नपठाउने जिल्लाहरूमा सप्तरी, सिरहा, धनुषा, बारा, रसुवा, बर्दिया, बाँके, रुकुम पूर्व र डोल्पा छन् । यी जिल्लाले क्रियाशील सदस्यताको विवरण पठाउन नै सुरु गरेका छैनन् ।
यी मध्ये केही जिल्लामा पार्टी समायोजनको काम नै बाँकी रहेकाले क्रियाशील सदस्यहरूको विवरण पठाउन ढिलाइ भइरहेको छ । कांग्रेसले केन्द्रीय समिति बैठकमार्फत १० चैतसम्म क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यता वितरण गरिसक्ने भनेको थियो । सो मिति नाघेपछि कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न कांग्रेसले २० चैतका लागि केन्द्रीय समितिको बैठकसमेत बोलाइसकेको छ ।
कांग्रेसले अघिल्ला महाधिवेशनमा कागजी प्रक्रियामार्फत सदस्यको विवरण राख्दै आएकोमा यस पटक सदस्यता वितरणलाई अनलाइन प्रणालीबाट व्यवस्थित रूपमा इन्ट्री गर्दै आइरहेको कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।यसअघि कांग्रेसले केन्द्रीय समिति बैठकबाट समयमै काम नसक्ने जिल्लालाई महाधिवेशनमा भाग लिनबाट रोक्ने निर्णय गरेको थियो ।
हाम्राकुरा डटकम बाट ।