Birat Post शुक्रबार, आषाढ १८, २०७८ मा प्रकाशित

featured photo: Birat Post

मानिस सबै एक हुदैनन् आ-आफ्नो रुची क्षमता तथा प्रतिभाले मानिसलाई चिनाउने काम गर्दछ l यस्तै नेपालको इतिहासमा बिर्सन नसकिने एउटा पात्र हुन् गिरिजा प्रसाद कोइराला l एउटा समाज परिबर्तनको सोच बोकेको परिबारमा जन्मेर पनि अत्यन्तै संघर्ष पूर्ण जीवनका साथ आफ्नो उमेर पार गरेका राजनैतिक व्यक्तित्व स्व.कोइराला ले पछिल्लो समयमा देशकै नेतृत्व लिन सफल समेत भए l बाल्यकालमा पिताजी कृष्णप्रसाद कोइराला ब्यापारको दौरान सिरहाको चंद्रगंज आइपुगे त्यसबेला सम्म पनि कृष्णप्रसाद कोइरालाको चन्द्रशमशेर संग राम्रो सम्बन्ध थियो l राम्रो सम्बन्ध भएकै कारण उनले देश भरिका धेरै भन्सार हरु ठेक्कामा लिएका थिए l चन्द्रशमशेर संग राम्रो सम्बन्ध भएका कारण उनले एकपटक लहडका भरमा ढाक्रेका फाटेका र मैला लुगाको पार्सल बनाएर चन्द्रशमशेरलाई एक व्यङ्ग्यात्मक चिट्ठीसहित पठाए । तर यहि कुरालाई राणाहरुलाई उनीहरुका सल्लाह दिने व्यक्तिहरुले गलत ढंगमा ब्याख्या गरिदिए र राणा विरोधीको रुपमा क्रिष्णप्रसाद कोइरालालाई चिनाउन सफल भए l त्यसपछि कृष्णप्रसाद भारतको टेडी सहर्षामा बस्न थाले l त्यसै बेला बि.सं. १९८१ असार १८ (सन् १९२५) मा बुवा कृष्णप्रसाद कोइराला र आमा दिव्या कोइराला निर्वासित रहेकै बेला गिरिजा प्रसाद कोइरालाको जन्म भएको थियो । त्यो भन्दा अगाडी शुख सयलमा आफ्नो जिबन निर्बाह गरिरहेका कोइराला परिबारमा दुखको दिन त्यस बेला देखि सुरुवात भयो जुन बेला सप्तकोसीको बाढीले टेडी को घरखेत बगाइ दियो l यस्तो दुखद परिस्थितिमा आफ्नो बाल्यकाल बिताउदै आएका गिरिजा प्रसाद कोइराला राणाहरुको माफी पछी पुन बिराटनगर फर्केका पिताजीले बिहारको टेडी बाट संगै ल्याएको आदर्श बिद्यालय मा उनले अध्ययन गर्न सुरु गरे l जीवनका सुरुवाती दिनहरुमा स्व. कोइराला ले राणाहरुको अत्याचार का कारण आफ्नै देश भित्र बसेर आफ्नै माटोमा समेत रमाउन पाएनन् l भारतमा जन्मेर हुर्केका गिरिजाप्रसाद कोइरालाले भारतको स्वतन्त्रताको संग्रामलाई नजिकबाट हेर्ने मौका पाएका थिए। उनले सानै उमेर देखी उथल पुथल भारतीय राजनैतिक अवस्थामा हुर्कनु परेबाट उनलाई राजनितीले आकर्षित पारेको थियो। यसकारण गिरिजाबाबुले सानै उमेरमा राजनितिमा प्रवेश गरेका थिए।
त्यति बेला नेपालमा राणाहरुको बिरोधमा जनमत तयार हुदै गएको थियो l गिरिजाप्रसाद कोइराला ले सबभन्दा पहिले २००४ सालतीर विराटनगरको हड्तालिहाट बाट मजदुर हडतालमा सक्रिय सहभागी भएर नेपाली राजनितीमा लागेका थिए। राणाहरुको बिरुद्ध आवाज उठाएकोले गर्दा कोइराला राणा शासनका बेला कैयन पटक जेल परेका थिए। २००४ सालमा कोइरालाकै नेतृत्वमा नेपाल मजदुर कांग्रेसको स्थापना गरी विराटनगर जुट मिलमा मजदुर आन्दोलनको शुरु गरेका उनी २००८ देखि २०१७ सालसम्म कांग्रेस मोरङ सभापति बनेका थिए । गिरिजाप्रसाद कोइराला नेपाल ट्रेड युनियन कांग्रेसको संस्थापक सदस्य एवं स्थापनाकालीन अध्यक्ष हुन् । २०१७ सालमा प्रजातन्त्रको अन्त्य गरि पञ्चायत कालको स्थापनासंगै नेपाली कांग्रेसका शिर्ष नेताहरु प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई लगाएत अधिकासं नेताहरुसँगै कोइराला पनि नजरबन्द भएका थिए।
गिरिजा प्रसाद कोइराला ले नेपाल फर्के पछी शुष्मा कोइरालासित विवाह गरेका थिए। शुष्मा कोइरालाबाट कोइरालाकी एक मात्र सन्तान सुजाता कोईराला जन्मेकी हुन। २०३१ सालमा गिरिजाबाबुको धर्मपत्नी सुष्मा कोइरालाको निधन भएको थियो।
गिरिजा प्रसाद कोइराला २०२८ साल देखी २०४० साल सम्म भारतमा निर्वासित जीवन बिताउन बाध्य भएका थिए। २०३३ सालमा पटनामा भएको नेपाली काँग्रेसको अधिवेशनबाट उनी महामन्त्री निर्वाचित भए। कोइरालाले २०३३ साल देखी २०४७ साल सम्म नेपाली काँग्रेसको महामन्त्रीको कार्यभार सम्हालेका थिए । पुर्ण प्रजातन्त्रको प्राप्ती पछी २०४८ मा भएको आमनिर्वाचिनमा गिरिजा प्रसाद कोइराला मोरङ क्षेत्र नं १ तथा सुनसरी क्षेत्र नं. ३ बाट निर्वाचित हुँदै चुनाव पछी बनेको नेपाली काँग्रेसको नेतृत्वको सरकारमा पहिलो पल्ट प्रधानमन्त्री भएका थिए । कोइरालाले २०४८ साल जेठ १२ गते देखि २०५१ मंसिर महिना सम्म जननिर्वाचित प्रधानमन्त्रीको रुपमा सत्ताको बागडोर सम्हालेका थिए।
२०५३ साल वैशाख २६ गते देखी २८ गते सम्म काठमाडौँमा भएको नेपाली काँग्रेसको नवौँ महाधिवेशनबाट उनी पार्टी सभापति बन्न पुगे। यस पछी फेरी २०५४ साल चैत ३० गते कोइराला दोस्रो पटक नेपालको प्रधानमन्त्री पदमा नियुक्त भए। यस्तै २०५६ साल चैत ७ गते कांग्रेसको इतिहासमा पहिलोपल्ट भएको संसदिय दलको नेताको चुनावमा बिजय हाँसिल गरी फेरी प्रधानमन्त्री भएका थिए। त्यस पछी उनले २०५८ साल साउन ४ गते आफ्नो पदबाट राजीनामा गरेका थिए। माओवादीसहितको दोस्रो जनआन्दोलन पछि २०६३ वैशाखमा कोइराला चौथोपटक प्रधानमन्त्री भएका थिए। करिब ६ वर्ष जेल जीवन विताएका कोइरालाको २०६६ साल चैत ७ गते मध्याह्न १२ बजेर १० मिनेटमा उनकी सुपुत्री सुजाता कोइरालाको निवास, मण्डीखाटारमा निधन भएको थियो । २०३१ सालदेखि २०४७ सालसम्म कांग्रेसको महामन्त्री रहेका कोइराला २०५३ सालदेखि लगातार पार्टी सभापति रहे ।                                  विंस. २०५९ असोज १८ गते तत्कालीन प्रतिनिधिसभाको विघटन गरी राजा ज्ञानेन्द्रको सक्रियतामा संसद बाहिरका व्यक्तिको अगुवाइमा सरकार गठन गरेपछि र वि.सं. २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रद्वारा नै सरकारको अध्यक्षता गरी निरङ्कुश शासनको सुरुआत गरेपछि नेता कोइरालाले २०५६ सालको निर्वाचित संसद पुनःस्थापना गर्ने एक मात्र माग राखी शाही शासनका विरुद्ध आन्दोलनको अगुवाइ गरेका थिए।
तत्कालीन सात राजनीतिक दल र सशस्त्र द्वन्द्वमा रहेको नेकपा (माओवादी) लाई समेत शान्तिपूर्ण राजनीतिमा ल्याउने वचनबद्धताका साथ आठ राजनीतिक दलको अभिभावकका हैसियतले २०६२ मङ्सिर ७ गते १२ बुँदे सम्झौता गराई राजतन्त्रविरुद्धको लोकतान्त्रिक आन्दोलनमा होमिने र त्यसको नेतृत्व लिने जस पनि नेपालको राजनीतिक इतिहासले नेता कोइरालालाई नै दिएको छ।

वि.सं. २०६२ चैत २४ देखि निरङ्कुश राजतन्त्रका विरुद्ध १९ दिने आन्दोलनपश्चात् २०६३ साल वैशाख ११ गते अन्ततः राजा ज्ञानेन्द्रको शाही शासन अन्त्य गराई संसदको पुनःस्थापनामार्फत नेपाली लोकतान्त्रिक प्रणालीको थालनी उनकै प्रधानमन्त्रीत्वबाट सुरु भएको थियो।
सशस्त्र द्वन्द्वमा रहेको माओवादीलाई शान्तिपूर्ण आन्दोलनमा ल्याउने र पुनःस्थापित संसदमार्फत राजशाहीको अन्त्य गर्ने एकमात्र मिलनविन्दुका रूपमा अघि सारिएको संविधानसभाको निर्वाचनको अभियान पनि उनको नेतृत्वबाट सुरु भयो र अन्ततः नेपाली इतिहासमा विगत छ दशकदेखि थाती रहेको संविधानसभाको निर्वाचन २०६४ चैत २८ गते सम्पन्न भयो।
यसअघि विस्तृत शान्तिसम्झौतामा हस्ताक्षर गरी तत्कालीन सरकार प्रमुखका तर्फबाट कोइरालाले र विद्रोहीका तर्फबाट माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा जारी दशवर्षे सशस्त्र द्वन्द्वको अन्त्य भएको घोषणा गरेका हुन्। शान्तिप्रक्रियालाई यहाँसम्म ल्याउन कोइरालाको विशेष योगदान रहेको छ । संविधानसभाको पहिलो बैठकमार्फत २०६५ जेठ १५ गते २४० वर्षको राजतन्त्रात्मक शासन प्रणालीबाट मुलुक पहिलोपटक गणतन्त्रात्मक शासन प्रणालीमा प्रवेश गर्‍यो। त्यसपछि मुलुकमा राष्ट्रपतिको निर्वाचन भई २०६५ साउन ८ गते पहिलो राष्ट्रपति डा.रामवरण यादवको घोषणा हुनुअगाडिसम्म उनले मुलुकको कार्यवाहक राष्ट्रप्रमुखको समेत जिम्मेवारी सम्हालेका थिए।
संविधानसभाको निर्वाचनमा आफनो दल नेपाली काङ्ग्रेसले दोस्रो ठूलो राजनीतिक दलको हैसियत प्राप्त गरेपछि निर्वाचनामार्फत सबैभन्दा ठूलो दलका रूपमा स्थापित तत्कालीन नेकपा (माओवादी) लाई त्यसै सालको भदौमा सत्ता सुम्पी उनले राजनीतिक अभिभावकको भूमिका निर्वाह गरेका थिए।
वि.सं. २०६७ जेठ १४ गतेसम्ममा संविधानसभा एवम् नेपालको अन्तरिम संविधान, २०६३ अनुरूप नयाा संविधानको निर्माण र माओवादी लडाकू एवम् हतियारको समायोजन हुन नसक्ने गुनासो व्यापकरूपमा उठेपछि पहिलो ठूलो दल एकीकृत नेकपा (माओवादी) र तेस्रो ठूलो राजनीतिक दल नेकपा (एमाले) का शीर्षनेताको सहभागितामा उच्चस्तरीय राजनीतिक संयन्त्रको गठन गरी त्यसको नेतृत्व पनि उनैले गरेका थिए।
घोडा चढ्ने लड्छ। समाजपरिवर्तनलाई अभिष्ट बनाएर अघि बढेको मानिसले कतै जस र कतै अपजस पाउनु स्वाभाविक पनि हो। यस्तै नेपाली क्रान्तिको इतिहासमा आफूलाई होमेर कति जस र कति अपजस बटुलेका कोइरालाले पछिल्लो समयमा खेलेको भूमिका अत्यन्तै सराहनीय छ। संसदीय दलहरू र नौलो जनवादी सिद्धान्त बोकेको तत्कालीन नेकपा (माओवादी) बीच सहकार्य गराई मुलुकलाई द्वन्द्वको अवस्थाबाट शान्तिस्थापनातर्फ अग्रसर गराउनमा कोइरालाको केन्द्रीय भूमिका रहेको थियो। विशेष गरी वि. सं. २०६३ यता नेपाली राजनीतिमा उत्तरदायी व्यक्तिका रूपमा चिनिँदै आएका कोइराला ‘न्याय नपाए गोरखा जानू’ भनेजस्तै ‘निकास ननिस्के कोइरालाकहाँ जानू’ भन्नेसम्मको उखान बनिसकेका थिए ।
राजनैतिक क्षेत्रमा मात्र हैन गिरिजा प्रसाद कोइरालाले देशको अर्थतन्त्र सुधारमा पनि ठुलो योगदान दिएका थिए l गिरिजा प्रसाद कोइराला प्रधानमन्त्रि हुदैगर्दा भर्खरै सुरु भएको राजनैतिक व्यवस्था भएकोले खुम्चिएको निजी क्षेत्र, न्यून आधारशीला, भौतिक तथा पूर्वाधार क्षेत्रमा लगानीको अभाव तथा कमजोर सामाजिक परिसूचकहरू उनका लागि अर्थतन्त्रका चुनौतिका बिषय थिए l नेपालमा सन् १९६० देखि १९८५ को आर्थिक वृद्धिदर औसतमा साँढे दुई प्रतिशत मात्रै थियो । कमजोर भौतिक आधारशीला थियो। कोइराला सरकारमा औदैगर्दा अर्थतन्त्र ज्यादै संकुचनमा थियो। अर्थतन्त्रमा संरचनागत समस्या थिए। विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष(आईएमएफ) ले समेत अर्थ व्यवस्थामा समस्या रहेको औंल्याएको थियो । उनीहरू नेपालको अर्थतन्त्र बनोटमै समस्या छ भन्न थालेका थिए । एकातिर उत्पादन नहुँदा देशले महँगो आयातभार खेप्नुपरेको थियो। आन्तरिक उत्पादनले व्यापार घाटा कम गर्न सक्ने अवस्था थिएन। निजी लगानीकर्ता राज्यले के गर्छ भनेर लगानी गर्न सशंकित भइरहेका थिए। निजी क्षेत्र खुला रुपले आउन सकेको थिएन।
जब कोइराला सरकारमा आए संरचना सुधार गरेर राज्यको हस्तक्षेपलाई कम गरेर निजी क्षेत्रलाई विकासको संवाहक मानेर अगाडि बढ्न सुरु भयो । निजी क्षेत्रलाई आश्वस्त गर्न थालियो। निजी बैंक तथा अन्य क्षेत्रमा विस्तारै लगानीका ढोकाहरू खुल्दै थिए। देश खुला अर्थतन्त्रमा प्रवेश भएको घोषणा भयो। समष्टिगत अर्थतन्त्रमा सुधार गरियो। नियन्त्रित राज्य व्यवस्थाभन्दा खुला अर्थतन्त्र राम्रो हो भन्ने धारणा बाट कोइराला प्रेरित बने ।
उदारवादी अर्थतन्त्रको कारण हरेक क्षेत्रमा सम्भावनाका ढोकाहरू खुल्दै गए। त्यही बेला गरिएको आर्थिक सुधारले हरेक क्षेत्रमा बाध्यता नभइ प्रतिस्पर्धा को सुरुवात भयो । शिक्षा, स्वास्थ्यदेखि उत्पादनका हरेक क्षेत्रमा केही न केही लगानी भएका छन्। उदारवादी अर्थतन्त्रमा नगएको भए हाम्रो अर्थतन्त्र अहिले पनि उस्तै खुम्चिएकै हुन्थ्यो।
यसरी कोइराला नेतृत्वको सरकारका पालादेखि साविकको राज्य नियन्त्रित अर्थ व्यवस्था खुला र उदार अर्थ व्यवस्थामा प्रवेश भयो । त्यतिवेला नेपालको प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, अर्थमन्त्री महेश आचार्य र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. रामशरण महत थिए। प्रधानमन्त्री कोइरालाले देशलाई उदार अर्थतन्त्रमा लैजान नेतृत्व गर्नुभएको
त्यसबेला प्रमुख प्रतिपक्ष को रुपमा नेकपा एमाले थियो l जुन कम्युनिष्ट पार्टी थियो उसले गिरिजा प्रसाद कोइरालाको खुला अर्थ व्यवस्थालाई स्वीकार्ने अवस्था थिएन तेसैले उसले कोइराला सरकारको ब्यापक बिरोध गर्यो l त्यस्बेलानै राजनैतिक संस्कार को व्यवहार देखेको भए देशले आज यो दुर्गति भोग्नु पर्ने थिएन l त्यसबेला खुला अर्थतन्त्रमा प्रवेश गर्न गाह्रो परिस्थिति थियो। साविकदेखि राज्यनियन्त्रित अर्थ संरचनामा काम गरिरहेको तत्कालिन कर्मचारीतन्त्रमा समेत खुला सोचको विकास हुन सकेन र केहि कर्मचारी हरु सडकमै समेत सरकारको बिरुद्धमा आउने बाताबरण राजनैतिक दलहरुले सिर्जना गरिदिए त्यस्तो परिस्थितिमा कर्मचारीतन्तालाई उद्धार संरचनामा ल्याउन कठिन थियो। नीतिगत सुधार गर्न कर्मचारीतन्त्रले सहजसँग लिए पनि सुधारप्रति जुन प्रतिबद्धता देखाउनुपर्ने हो त्यो भने हुन सकेको थिएन।
गिरिजा प्रसाद कोइरालाले रोपेको रुखको फल नै अहिलेको राजस्व हो। अहिले उठेको राजस्व त्यतिवेलाको उदार अर्थतन्त्रको देन हो। कोइरालाले त्यतिवेला यस्तो नीति नलिएको भए अहिलेको जति राजस्व उठ्न सम्भव थिएन।
अहिलेको सरकार गिरिजा प्रसाद कोइरालाले तयार गरेको आर्थिक जगमा रमाएर बसेको छ। त्यसैले आज गिरिजा प्रसाद कोइरालाको ९८औ जन्मदिनमा फेरी एकपटक उहाँ र उहाँको योगदान लाई सम्झदै र त्यहि योगदान बाट प्रेरणा लिदै अगाडी बढ्न ढिलो भैसकेको छ ।                                                        (लेखक गिरिजाप्रसाद काेइराला फाउन्डेसन माेरङका सचिव हुन्)

सम्बन्धित

ताजा अपडेट
एसइईको नतिजा बिहीबारसम्म सार्वजनिक गरिने
कोशी सरकार विरुद्धको रिट खारेज, हिक्मत कार्कीले पाए वैधानिकता
रंगेली नगरपालिकाले ल्यायो ७२ करोडको बजेटः बहुवर्षिय योजनालाई निरन्तरता, शिक्षा र स्वास्थ्य प्रमुख प्राथमिकतामा

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल