Birat Post सोमबार, माघ २३, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२३ माघ /

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले पार्किङ व्यवस्थापनको निर्णयबाट महानगर पछि नहट्ने बताएका छन् ।
व्यापारीहरूको ध्यानाकर्षणपत्र बुझ्दै मेयर कोइरालाले विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानबाट महानगर एक इञ्च पनि पछि नहट्ने प्रस्ट पारे ।

महानगरले बजार क्षेत्रका विभिन्न सडकलाई विकल्पसहित पार्किङ निषेधित क्षेत्र घोषणा गरेको छ । महानगरले शनिमन्दिर–अस्पतालचोक, महावीर रोड, गुद्री रोड, शनिमन्दिर रोड, जलजलाचोक–ट्राफिक चोकलाई पार्किङ निषेधित क्षेत्र घोषणा गरी कार्यान्वयनमा ल्याइसकेको छ । विकल्पसहितको पार्किङको व्यवस्थापन गरेकाले निर्णयबाट पछि नहट्ने मेयर कोइरालाको भनाइ थियो ।

“हरेक पार्किङस्थलबाट २ देखि ३ मिनेटमा जुनसुकै पसलमा पुग्न सकिने अवस्था छ,” मेयर कोइरालाले भने, “विराटनगरलाई जस्तो छ त्यस्तै छाडिदिऊ भन्नुहुन्छ भने हाम्रो भन्नु केही छैन । तर, विराटनगरलाई व्यवस्थित र सुन्दर बनाउने हो भने तपाईंहरूले सहयोग गर्नुहोस् ।” सडकमा पार्किङ निषेधले व्यापार भएन भन्नु गलत भएको उनको तर्क थियो । “बानी नपरेका कारण अलि असहज महसुस भएको हुनसक्छ । बानी पर्दै गरेपछि सबै ठीक हुन्छ,” उनले भने, “विगतमा कालीमन्दिर अगाडि पनि पार्किङ निषेध गरिएको थियो, त्यस आसपासको व्यापारीलाई समस्या भएन त । अनि अहिले आएर अरु सडकलाई पार्किङ निषेध गर्दा समस्या भयो भन्नु ठीक भएन ।” महानगरले पुरानो जलजलाहल उत्तर, शनिमन्दिर पूर्व–दक्षिण, गुद्री, बुधहाटचोकको वी–प्लटसहित विभिन्न स्थानमा पार्किङको व्यवस्थापन मिलाएको छ । बैंक, अस्पतालसहित ठूला कर्पोरेट हाउसले निर्माण गरेका अण्डरग्राउण्ड पार्किङ सञ्चालनका लागि पत्राचार गरिसकेको समेत सुनाए ।
सडकको अव्यवस्थित पार्किङले एम्बुलेन्स, दमकल सहज रुपमा आवतजावत गर्न नपाउँदा बिरामीको ज्यानै जाने अवस्था रहेको उनको भनाइ थियो । “समयमै एम्बुलेन्स अस्पताल नपुग्दा बिरामीको मृत्यु हुने अवस्था थियो,” उनले भने, “अनि आगलागी भयो भने दमकल समयमै नपुग्दा बढी क्षति हुन्छ । यस्तो संवेदनशील कुरा तपाईंहरूले बुझिदिनु पर्‍यो ।” मेयर कोइरालाले महानगरलाई व्यवस्थित बनाउने अभियानअन्तर्गत ट्राफिक लाइट र सिटीबस सञ्चालनका लागि प्रक्रिया अघि बढाइसकेको समेत जानकारी गराए ।

उपमेयर शिल्पा निराला कार्कीले यात्रु र आमसर्वसाधारणबाट सडकलाई पार्किङ निषेध गरेको प्रति खुसी व्यक्त गरेको बताइन् । उनले विराटनगर बनाउने अभियानमा साथ दिन व्यापारीहरूलाई आग्रहसमेत गरिन् । “विराटनगर हामी सबैको हो,” उनले भनिन्, “हामी सबै मिलेर लाग्यौं भने मात्रै विराटनगरलाई व्यवस्थित र सुन्दर बनाउन सक्छौं ।” वडा नम्बर ९ का वडाध्यक्ष विश्वनाथ भगतले बजारलाई व्यवस्थित बनाउन सहयोग गर्न व्यापारीहरुलाई आग्रह गरे । सडकबाट पार्किङ हटाउन बजार सुन्दर देखिएको उनको भनाइ थियो । महानगर प्रहरीका निरीक्षक राजन पौडेल र ट्राफिक प्रहरी कार्यालय मोरङका वरिष्ठ प्रहरी नायव निरीक्षक यज्ञराज शर्माले महानगरका अन्य सडकलाई पनि पार्किङ निषेध गर्ने तयारी भइरहेको सुनाए ।

कार्यक्रममा पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेल, सामाजिक अभियन्ता वसन्त अधिकारीलगायतले महानगरले सुरु गरेको अभियानमा सबैले साथ दिनुपर्नेमा जोड दिए । उनीहरूले विराटनगरलाई माया गर्ने हरेकले अहिलेको अभियानलाई सफल बनाउन लाग्नुपर्ने बताए । “जोगबनीबाट सामान ल्याउन अहिले कडाइ गरिएको छ । सीमामा कडाइ गरेपछि उपभोक्ताहरु उता जाने अवस्थै छै,” अध्यक्ष ढुंंगेलले भने, “त्यसो भए उपभोक्ताहरू विराटनगरमा खरिद नगरेर कहाँ गए त ?”

सडकमा पार्किङ गर्न नदिँदा व्यापार व्यवसाय चौपट्ट भएको भन्दै व्यापारीहरूले महानगरको ध्यानाकर्षण गराएका छन् । छलफलमा नेपाल उद्योग परिसंघका उपाध्यक्ष नवलकिशोर काबरा, मोरङ व्यापार संघका महासचिव अनिल सारडा, विराट व्यापार संघका अध्यक्ष नरेश खत्रीलगायतको सहभागिता रहेको थियो । महानगरको अभियानमा साथ दिन तयार भएको बताउँदै उनीहरूले सडकमा पार्किङ गर्न दिएर सवारी साधनलाई एकतर्फी सञ्चालन (वनवे) बनाउन आग्रह गरेका थिए ।

सम्बन्धित

ताजा अपडेट
एफडी माेटर्सकाे एभी स्कुटी विराटनगरकाे कदमगाच्छीमा लन्च
वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाइँदै
सूर्यको हानिकारक किरणबाट बचाउन मद्दत गर्ने ओजोन तहमा सुधार

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल