विराटनगर, १४ फागुन । नेपाल स्काउटको राष्ट्रिय कार्यकारी समितिको सह–प्रमुख आयुक्तमा विराटनगरका किरण गिरी नियुक्त भएका छन् । कोशी प्रदेशबाट स्काउटको केन्द्रीय समितिमा निर्वाचित भएका गिरीलाई प्रमुख स्काउटको जिम्मेवारीमा रहेका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले सहप्रमुख आयुक्त नियुक्त गरेका हुन् ।
माघ २७ गते भएको निर्वाचनमा निर्वाचित भएका स्काउटका ५६ जना राष्ट्रिय परिषद् सदस्यमध्येबाट प्रमुख स्काउट (युवा तथा खेलकुद मन्त्री)ले प्रमुख आयुक्त, सहप्रमुख आयुक्त र १३ जना आयुक्त नियुक्त गर्ने प्राबधान छ ।
फुटबलका अन्तराष्ट्रिय रेफ्रिसमेत रहिसकेका गिरी स्काउटमा लामो समयदेखि आबद्ध थिए । युवा तथा खेलकुद मन्त्रालयले निर्माण गरेको ५ सदस्यीय सिफारिस समितिले उनको नाम सिफारिस गरेको आधारमा मन्त्री डिकबहादुर लिम्बूले उनलाई सहप्रमुखमा नियुक्त गरेका हुन् । गिरी कोशी प्रदेशका ४ जनामध्येमा १०७ मत ल्याएर विजयी बनेका थिए ।
मन्त्री लिम्बूले स्काउटको राष्ट्रिय कार्यकारी समितिको प्रमुख आयुक्तमा भने महेन्द्रराज रञ्जितलाई नियुक्त गरेका छन् । गिरीसहित सह–प्रमुख आयुक्त (महिला विभाग)मा इन्दु सुवेदी, अन्तराष्ट्रिय आयुक्त (पुरुष विभाग)मा देवराज घिमिरे, राष्ट्रिय शैक्षिक पद्दती आयुक्त (पुरुष विभाग) मा सन्तोषकुमार थापा, राष्ट्रिय शैक्षिक पद्दति आयुक्त (महिला विभाग) मा भुवन सुब्बा, राष्ट्रिय सामुदायिक विकास आयुक्तमा सुदर्शनप्रसाद भट्टराई र राष्ट्रिय सुशासन, श्रोत विकास तथा वित्त आयुक्तमा गुनाखर गैरे नियुक्त भएका छन् । यस्तै अन्तराष्ट्रिय आयुक्त (महिला विभाग)मा स्मृति बराल, राष्ट्रिय कार्यकारी समिति सदस्यहरुमा (आयुक्तहरु)मा गणेश भण्डारी, काशीराम जैशी, रवि खनाल, आर्शिवाद सुवेदी र शिवराम अर्याल नियुक्त भएका छन् ।
स्काउटको १५ सदस्यीय कार्यकारी समितिमा कोशी प्रदेशबाट ५ जना नियुक्त भएका छन् । प्रदेशका किरण गिरी सह–प्रमुख आयुक्त (पुरुष विभाग) मा, भुवन सुब्बा शैक्षिक पद्दति आयुक्त (महिला विभाग) मा, सुर्दशन भट्टराई राष्ट्रिय सामुदायिक विकास आयुक्तमा, तथा रवि खनाल र नबलप्रसाद उपाध्याय राष्ट्रिय कार्यकारी समिति सदस्य (आयुक्त) मा नियुक्त भएका हुन् ।