डा.खिलानाथ शर्मा (सिलगडी, भारत) शनिबार, आषाढ २०, २०७७ मा प्रकाशित

featured photo: Birat Post
शनिबारको  साँझ । सहर बितेको छ दिनको नियममिततालाई भुलेर आज आफूखुशी रमाउने तरखरमा जुटेको छ। शॉपिंग मल, बार, डिस्को थेक, डॉन्सबार सबै ठाउँमा मान्छेको जमात छ। सबै ठाउँमा भीड़को बैशालु लहर चलेको छ।
मेरी श्रीमती छोरालाइ लिएर माइत गएकि हुनाले म आज एक्लै थिएँ। फोन उठाएँ र साथी संजीवलाई बोलाएँ।  उ एकैक्षणमा टुप्लुक्कै आई पुग्यो ..
“यहाँ कमराभित्र बसेर के गर्नु मुला !! हिँड़ जाऊँ कुनै बारमा बसौं।” संजीव मूड बनाएर आएको रहेछ। मलाई पनि तेस्तै मूड चलेको थियो।
“डॉन्स बार?” मैले उत्ताउलो प्रस्ताव राखें।
“ओके लेट्स गो” उस्ले झट्टै स्वीकृति दियो।
हामि दुवै जना सेवक रोड स्तिथ एउटा डान्स बारमा गयौं
भित्र पस्न अघि ढोकामा तैनाथ पालेले हामी दुवैलाइ राम्ररी नियालेर हेर्यो अनि केही नबोली  ढोका खोलिदियो। उसले हामीमा के देख्यो कुन्नि थाह भएन।
भित्र पस्नसाथ पहिला हामीलाई कृत्रिम अन्धकारले स्वागत गर्यो अनि त्यसपछि त्यहाँको मादक वतावरणले। हाम्रो आँखाको ज्योतिले त्यहाँको अन्धकारलाई छिचोल्दै गएपछि त्यहाँ उपस्थित भीड़लाई नियालेर हेरयौं अनि कुनाको एउटा टेबल रोजेर बस्यौ।
एउटी युवती, अल्गी, सेतो वर्ण गरेकी, कालो रंगको मिनी स्कर्ट र सेतो कमीज लगाएकी, हामी बसेको टेबल नजिक आएर मेनू कार्ड टेबलमा राख्दै मुस्कुराई र सोधि।
-के लिनु हुन्छ सर?
बार हॉल मान्छेले खचा खच भरिएको थियो।
मधुरो  प्रकाश भएकाले कसैले कसैलाई टाड़ाबाट ठम्याउन सक्दैन थियो। हो-हल्लाले भने
स्त्री पुरुष सराबरि भएको र सबैको आँगमा वैंस नाचिरहेको संकेत गरिरहेको थियो।
एउटी युवती, अल्गी, सेतो वर्ण गरेकी, कालो रंगको मिनी स्कर्ट र सेतो कमीज लगाएकी, हामी बसेको टेबल नजिक आएर मेनू कार्ड टेबलमा राख्दै मुस्कुराई र सोधि।
-के लिनु हुन्छ सर?
अल्गो काया। गोरो अनुहार। कैलो केश। अनुहार सुहाउने ठुलो निधार। ठुला ठुला नौगेड़ी जस्ता आँखामा चारैतिर कालो गाजलको घेरो। अनुहारलाई सुहाउने तीखो नाक। लाली पोतिएका गाला। पातला ओठमा रातो लिपस्टिक। लामो सलक्क परेको गर्दन। कालो रंगको मिनीस्कर्टमा गोरा सलक्क परेका तिघ्रा माथिसम्म देखिन्थे। पाउमा अग्ला हिलवाला स्याण्डल भिरेकी। नाभी र कम्मर सबै देखिने गरेर लगाएको सेतो स्लीवलेस कमीज उसको शरीरमा टिमिक्क मिलेको हुनाले दुवै हृस्टपुष्ट बक्षस्थललाई राम्ररी बाहिरी आकार दिएको थियो।
म उस्लाई हेरेको हेरेकै भएँछु। मलाइ थाह नै नदिकन मेरा आँखामा उ कति सजिलै बस्न अईछ ?   हाम्रो आँखा पनि कति समावेसी। राम्रा, नाराम्रा ठुला साना जति जे देख्छ निमेषभरमैं आफूमा समावेश गरेर राख्छ।
साथी सन्जीवले “साथी के लिन्छौ?” भनेर सोद्धा पो झसङ्ग भएछु। मेनुमा नहेरि मैले भने “भ्याट 69 र चिकन चिल्ली”।
“हुन्छ सर” भन्दै मिठो लावण्या मुस्कान छर्दै उ त्यहाँबाट गई।
आज एक्लै आउनु भो भनेको? उस्ले हाँसदै सोधी।
-एक्लै आएको। जीवनमा सँधैभरी साथ दिने को हुन्छ र? मैले भने 
-हामीलाई सबैभन्दा धेरै माया गर्नेले हामिलाई सँधै साथ दिन्छन्। उसले हाँस्दै जवाब दिई 
-हामीलाई माया गर्नेहरु पनि एकदिन हामीलाई छोड़ेर जान्छन्।
स्टेजमा गीत सुरु भएको थियो। युगल जोड़ी हिन्दी गीत गाइरहेका थिए। व्हिष्कीमा डुबेको भिडले बिच बीचमा  वाह…वाह…भन्दै स्टेजमा पैसा उडाउँदै थियो। युगल जोड़ी अझ जोशका साथ अभिनय गर्दै गाउँदैथिए। भीड़ अझ जोशीलो हुँदै नाच्दैथियो। विभिन्न किसिमका इन्द्रेणी रंगका प्रकाशले बल्दै  निभ्दै गर्दा साँझपख क्षितिजबाट इन्द्रेणी पनि यहाँ आएर  ऱ्यापकै सुरतालमा नाचेको झैं प्रतीत भई रहेको थियो।
एउटा ठुलो ट्रे माथी दुईवटा सिसाको गिलासमा व्हिष्की, बॉलमा आइसका सा-सना क्यूब्स, एक एक बोतल सोडा र  बिस्लेरी पानी बोकेर उ आई। ट्रे लाई बिस्तारै टेबलमा राखी र मुस्कुराउँदै सोधि।
“सर.. सोडा की पानी”?
-सोडा र दुईटा क्यूब्स आइस..संजीवले जवाब दियो।
-मलाई चाँही पानी र दुईटा आइस..मैले भने।
-तिमी चाहिँ केहि लिन्नौ? संजीवले उसलाई सोधी हाल्यो।
-तपाईँहरु लीनुहोस्न। उसले मुस्कुराउँदै जवाब दिई।
-तेसोभए तिमी के गर्छौ त? संजीवले सोध्यो ।
-म अहिले डॉन्स सुरु भएपछि नाच्छु। उस्ले जवाब दिई ।
-एकक्षण हामीसँगै बसे हुन्न? संजीवले फेरी सोध्यो ।
-‘हुन्छ’ भन्दै उ मेरो अघाडीको कुर्सीमा बसी।
-तिम्रो नाम के नी? मैले सोधें।
-मेरो नाम त थुप्रै छ। कुन चै नाम भन्नु तपाइँलाई?
-जून नामले तिमीलाई सबैले चिन्ने गर्छन्।
-मलाई मेरो नामले कसैले चिन्दैनन्
-तेसो भए के भनेर चिन्छन त?
-छोड़िदिनोस यी सब कुरा। अरु के लिनुहुन्छ?
उसले मेरो प्रश्नको उत्तर नदिई मलाई हेर्दै मुसुक्क हाँसी र बातचितको प्रसंगलाई अर्कैतिर मोड़ी।
-तेसोभए नाम नभन्ने निर्णय गर्यौ? मैले छोड़िन।
उस्ले अलिक गंभीर हुँदै भनी “मेरा आमा बाबाले राखेको नाम एउटा छ। मैले आंफैले राखेको नाम बेग्लै छ। आफन्त छर छिमेकिले अर्कै नामले बोलाउँछन। साथी संगिले अर्कै। म के नाम भनौ त तपाइँलाई?”
-तिमीलाई सब भन्दा राम्रो लाग्ने नाम नै भनिदेउ न त। मैले मुस्कुराउँदै भने ..
-मलाई सबै नाम राम्रो लाग्छ।
-तेसोभए हामीले अर्को पल्ट भेट्दा तिमीलाई के भनेर बोलाउने त? संजीवले बीचमा सोध्यो।
-हात को इसारा नै काफी छ सर हामीलाई बोलाउन। उसले निकै गम्भीर भएर जवाब दिई ..
-अनि बाहिर भेट्दा कसरी हातले ईसारा गर्नु? मैले सोधें।
-बाहिर भेट्दा हामीलाई कसैले बोलाउने आँट गर्दैनन् तेसैले हामीलाई नामको जरुरत पर्दैन। उस्ले  अझ गम्भीर हुँदै जवाब दिई।
-तिमीलाई बोलाउँदा आँटले होइन मायाले बोलाउँला। मैले भने ..
उ खितखिताएर हाँसी। हाँसदा उसका अनारदाना जस्ता मिलेका सेता दाँत देखिए ओठको  रातो घेरा भित्र।
हाँसदै उस्ले मलाई राम्ररी नियालेर हेरी अनि के सोचेर हो कुन्नि अफठ्यारो मान्दै आफ्नो मिनी स्कर्टको फेरलाइ तिघ्राबाट तल तान्न लागि। फेरी मलाई हेरी। उसको यसपल्टको हेराई किन हो कुन्नि मलाई निर्दोष लाग्यो। हाम्रो आँखा यसपल्ट राम्ररी जुधे। उस्ले  मुस्कान संग अलिकती लाज मिसाउदै मुन्टो निहुराइ र सुस्तरी भनी “मलाई तपाईँहरु सिमरन भनेर बोलाउनु होला”।
-व्हिष्की थपौं होइन सर भन्दै उ उठी।
-‘हुन्छ’ मैले मुस्कानसँगै स्वीकृति दिएँ।
उ त्यहाँबाट गई र एकैछिनमा चिकन चिल्ली र दोहोर्याएर मगाईएको व्हिष्की लिएर आई।
पेग बनाई र डॉन्स हेरेर जाने आग्रह गरेर उ गई।
डॉन्स सुरु भयो। छ सात वटी तरुनिहरु स्टेजमा आएर नाच्न सुरु गरे। सिमरन पनि थिई उनिहरुबिच। हिन्दी ‘आइटम सङ्ग’ दन्की रहेको थियो। सबै नर्तकिहरु मिनी स्कर्टमा थिए। कोई स्टेजबाट ओर्लेर भीड़को बीचमा र टेबलको वरिपरि घुम्दै नाच्न थाले। भीड़मा भएका तान्नेरीहरुको जोशले उत्कर्स सिमा छिचोल्दै थियो। कोई कोईले उनीहरुलाई तानेर आफना काखमा बसाए, कोई उनिहरुसंग टाँसिदै नाच्न लागे। सिमरन स्टेजमै नाची रही। भीड़मा उ सामिल भइन । उस्को नचाइमा स्फुर्ती थिएन। अरुको जस्तो खुलापन थिएन। नजानिदो लाज र अफ्ठ्यारोपनाको झिनो धगोले मानौ उसलाई बाँधी रहेको थियो। उ त्यस्बाट उमकन सकेकी थिइन।                  ११ बज्यो। हामी घर फर्कन भनेर उठिउँ I मैले उसलाई हेरें । उ पनि नाच्दै मलाई हेरी रहेकी रहिछे। मैले हाथ हल्लाउँदै ‘बाई’को इशारा गरें। उस्ले पनि हाथ हल्लाएर ‘बाई’ गरी। सँधै राम्रो मात्र रोज्ने र अङ्गाल्न खोज्ने मेरो मनले केही छुटेको मह्सुश गर्यो।
                                              ++
केही दिन पछिको कुरा। आइतबारको दिन। सिटी सेंटर शॉपिंग मॉल मानिसको भीड़ले खचाखच भरिएको थियो। म पनि तेहि भीड़को हिस्सा हुन् पुगेको थिएँ।
-सर आज एक्लै?
पछाड़ीबाट कुनै स्त्रीले कानको नजिक आएर बोले झै लाग्यो। फर्किएर हेरें। ओठमा दुइ थुंगा मुस्कानको फूल फुलाएर उभिएकि रहिछ सिमरन। मेरो मन धेरै दिन देखि हराएको कुनै बहुमूल्य चिज अचानक भेंटिदाको झै खुसिले तरङ्गित भयो। झट्ट केही बोल्नलाई शब्द बटुल्न हड़बड़ायो मेरो मनले। केही क्षणका निम्ति हाम्रो मुस्कानले मात्र आपसमा बात मारिरहे।
पहेंलो कुर्ता, हरियो सलवार अनि हरियै रंगको दुपट्टामा उसको अग्लो सलक्क परेको सुडौल कायाले आज शालीन अभिनय गर्दै थियो। उसको गोरो अनुहारमा हल्का श्रृंगार चित्रकारले आफ्नो बहुमूल्य चित्रमा गरेको फाइनल टच झै लाग्यो।
-आज एक्लै आउनु भो भनेको? उस्ले हाँसदै सोधी।
-एक्लै आएको। जीवनमा सँधैभरी साथ दिने को हुन्छ र? मैले भने
-हामीलाई सबैभन्दा धेरै माया गर्नेले हामिलाई सँधै साथ दिन्छन्। उसले हाँस्दै जवाब दिई
-हामीलाई माया गर्नेहरु पनि एकदिन हामीलाई छोड़ेर जान्छन्। मैले भने
-त्यसो भए हामीले सँधै पाउने साथ त केवल आफ्नो मात्र रहेछ होइन सर । उसले भनि
-हामी आंफैले पनि आफ्नो साथ संधैभरी दिन सक्दैनौ। हाम्रो मनले यसो गरौं भन्छ हामी तनले अर्कै के के गर्दै गरेका हुन्छौं। मैले निकै दार्शनिक हुने चेष्टा गरें
-तपाइँलाई कुरा गर्न धेरै आउँदो रहेछ। म तपाइँको जस्तो मन पगालेर कुरा गर्न जान्दिन। उसले मेरो अघाडी हार मानेको भाव प्रकट गरि I
-कुरा गर्न जान्दै मात्र सबै संग मन पगाल्न सकिदैन। मैले भने
-त्यसो भए कसरी पग्लिनछ त मन? उसले प्रश्न राखी
-पग्लिनका निम्ति मनलाई धेरै न्यानो अनुभव हुनुपर्छ। जीवनमा कसै कसैको समीप्यतामा मात्र हाम्रो मनले न्यानो अनुभव गर्छ। मैले उत्तर दिएँ
उ चुप लागी र यता उता हेर्न लागि।
-तिमी यहाँ किन आएकी थियौ? मैले डिस्टर्ब त गरिन? मैले सोधें
-फ़िल्म हेर्न भनेर हामी तिनजाना आएको थियौं तर टिकटै पाईएन। साथीहरु शॉपिंग गर्न लागे।म चाहिँ घर फर्किन लागेको थिएँ। उसले जवाब दिई
-घर कहाँ हो तिम्रो? मैले उसलाई सोधें
-घर होइन किराइको कमरा हो। गुरुंग बस्तिमा छ। उसले छोटो उत्तर दिई
-तेसो भए एक्छिन कॉफी खाएर जाऊँ न त हुन्न? मैले प्रस्ताव राखें
उस्ले मुस्कान सँगै मुन्टो हल्लाएर स्वीकृति दिई।
हामी कॉफ़ी शॉप भित्र पस्यौं।
कुनाको एउटा टेबल रोजर हामी बस्यैं।
मेनू हेर्दै मैले सोधें।
-के पिउने? हॉट कॉफ़ी की कोल्ड कॉफ़ी?
-तपाइँ जे पिउनुहुन्छ मलाई पनि तेहि मगाउनु होला।
मैले दुइ कप क्यापाचीनो मगाएं।
कॉफ़ी शॉपमा विद्यमान शान्त वातावरणले हामी दुइ बिच आफ्नो खुट्टा पसार्यो। केहिबेर हामीबिच मौनता छायो। कुरा गर्न कसैले त थालनि गर्नु नै थियो। मलाई उसका बारेमा जान्न पनि धेरै इच्छा थियो त्यसैले मैले नै बोलें।
-घरमा को को हुनुहुन्छ तिम्रो?
-आमा।
-बाबा,दाजु,भाई कोई हुनुहुन्न?
-भाई छ। कलकत्तामा पड्दैछ। बाबा भाई जन्मेकै साल अर्कै बिहे गरेर हामीलाई छोड़ेर जानुभएको अरे। मैले उहाँलाई देखेको छुइन। आफु सानु छँदा देखेको सम्झना छैन।
-अनि किन आमा मात्र हुनुहुन्छ भनेको त?
-तपाइँले घरमा को को हुनुहुन्छ भनेर सोध्नु भयो तेसैले। घरमा त आमा मात्रै त हुनुहुन्छ नि । यति भनेर उ खितखिताउँदै हाँसी।
-तिमीले बारमा काम गरेकोमा कसैलाई आपत्ति छैन? मैले जान्ने इच्छा प्रकट गरें
-छ सर। सबैभन्दा धेरै आपत्ति मेरो मनलाई छ। उसले गम्भीर हुँदै जवाब दिई
-मनलाई हुँदा तिमीलाई पनि त आपत्ति होला?मन त आखिर तिम्रै हो। मैले फेरी प्रश्न गरें
-मैले मेरो बाध्यतालाई बुझेको छु। तेसैले मलाई आपत्ति छैन। आफ्नै मन चाहिँ धेरैपल्ट अबुझ होइदिन्छ र आपत्ति गरी रहन्छ। जिद्दी बालक जस्तो। तर मनको कुरा नसुनि म काम गरिरहेकी छु। उसका कुराहरुमा बध्यताको सिरैटो साथै चिसो दार्शनिक राप थियो।
-घरमा आमा र भाइलाई चाहिँ आपत्ति छैन? मैले फेरी सोधें।
-नढाँटेको भए धेरैलाई हुन्थ्यो होला। तर मैले कसैलाई भनेकी छुइन। निकेशलाई मात्र थाह छ। उसले जवाब दिई I
-निकेश को हो? मैले धेरै उत्सुक्ता देखाउँदै सोधें।
-निकेश मेरो बॉयफ्रेंड हो। मलाई धेरै माया गर्छ। यूनिवर्सिटीमा पढ़दै छ। उस्ले यसैपालि ऍम ए फाइनल दिन्छ। उसको पढ़ाई सक्किएपछी हामी बिया गर्छौं।
निकेशसंग विवाहको कुरा गर्दा उसको अनुहारमा  उत्कर्ष ख़ुशी दगुरिरहेको थियो।
वेटरले कॉफ़ी ल्यायो।
कॉफ़ी पीउँदै उसले हाम्रो दाहीनेपटिको देवलमा भएको ठुलो ऐनामा देखाउँदै भनी।
-उ हेर्नुहोस् त त्यहाँ।
कॉफ़ी पीउँदै उस्ले उत्सुक्तापुर्बक देखाएको ऐनामा हेरें। हाम्रो दाहीनेपटि हामीलाई पिठिउँ फर्काएर कॉफ़ी पिउन बसेका दुई किशोरहरुको प्रतिबिम्ब हामीपटी फर्किएको रहेछ। ति दुई किशोरहरु मध्धे एउटा अलिक अग्लो देखिने ,गहुँ गोरो वर्णको, हेर्दा हँसिलो देखिन्थियो। अर्को किशोर अलिक होचो देखिने, गोरो वर्णको, उमेरमा अलिक सानो देखिन्थ्यो।
ति दुई किशोरहरुलाई देखाउँदै उस्ले भनि।
-त्यों अग्लो केटा जस्तै देखिन्छ मेरो निकेश। मेरो भाई चै त्यों सानो केटा जस्तै छ।
उसका आँखामा ति दुई किशोरहरुको प्रतिबिम्बित अनुहार प्रष्ट देखिन्थ्यो।
-अब छःमहिनामा भाइले पनि डिग्री लिन्छ। प्राइवेट नै भएपनि उतै कुनै काम पाइहालच्छ। आमालाई पनि उसितै लगेर पाल्छु भन्छ। त्यास्पछाड़ी म पनि आफूखुसि केही सानो काम गर्न सक्छु। जिन्दगीको ठिहिलाई ढाक्न उस्ले साना साना इच्छा र आकांक्षाहरुको धागाहरुलाई गाँस्दै सपनाको राम्रो स्विटर बुन्दै थिई ।
साँझ पर्न लाग्यो। उ घर जान हतारिन लागि । मैले कॉफीको पैसा तिरें र हामी दुवै कैफ़ेबाट निस्कियौं।
-तिमी घरै जान्छौ भने म छोड़िदिउँ तिमीलाई घरसम्म?
-घरै त जान्छु भने तपाइँलाई। अरु कहीं जान्छु भने र? उस्ले रिसाएझैँ भाव प्रकट गारी। मैले जवाबमा मुस्कुराउने सिवाय अरु बिकल्प रहेको थिएन। मैले तेसै गरें। मलाई हेर्दै उ पनि मुस्कुराई।
गुरुंग बस्ति आई पुग्यौं। उस्ले ईसारा गरेकै घर अघाड़ि मैले गाड़ि रोकें।
-एकैछिन आउनुहुन्न? गाड़िबाट उत्रिंदै उसले आग्रहपूर्ण प्रश्न गरि
-आज होइन सिमरन। अर्को कुनैदिन आउनेछु। मैले उसको आग्रहलाई मानिन
-अर्को कुनैदिन भेट हुने हो की होइन के थाह र। आउनुहोसन आज। उसले फेरी विन्ति गरि
-एउटै सहरमा भएपछि कुनै न कुनै समयमा भेट त भई हल्नेछ। मैले उसको घर जान मानिन
-मेरो बिया भएपछि त म अर्कै ठाऊँ गई हाल्छु अनि भेट्नुहुन्छ भनेर जिस्किँदै उस्ले कारको ढोका बन्द गरि र हाथ हल्लाउँदै ‘बाई’ को ईसारा गरी।
मैले पनि त्यसै गरें र गाड़ी अघाड़ि बड़ाएं।
                             +++
धेरै दिन पछिको कुरा। शनिबारको साँझ पर्न लागेको समय। चम्पासरी बज़ारमा तरकारी किन्न भनेर गएको थिएँ। टाड़ाबाट सिमरनलाई देखें। पसलमा तरकारी किनी रहेकी रहिछे। मलाई देखेर “हाई” भन्दै हाथ हल्लाई र छिटो छिटो हिँड़दै म भएतिर आई।
-सर पनि सब्जी किन्न आउनुभएछ। सानो बालकले कसैको खिसि गरेझैँ खिसि हाँसो हाँस्दै बोली।
मैले मुस्कुराएर उसलाई हेरें।
-तिमीलाई सम्झी रहेको थिएँ। भेट पनि भाई हाल्यो। धेरै लामो आयु रहेछ तिम्रो। मैले भने
-सम्झिने र भेट्ने क्रमसंग आयुको के सम्बन्ध छ र सर? उसले गहकिलो प्रश्न गरि
मलाइ उसको प्रश्नको जवाब दिन निकै बेर सोच्नु पर्ने भयो एकक्षण पछी मैले जवाब दिएँ        -जस्लाई हाम्रो मनले रुचाउँछ त्यसलाई हामी बारम्बार सम्झी रहन्छौं । मनले रुचाएका व्यक्तिसंग बिताएका क्षणहरु अति जीवन्त हुन्छन् र ति जीवन्त क्षणहरुमै हाम्रो जिन्दगी वास्तवमा बाँचेको हुन्छ। तेसैले भनेका होलान बुढापाकाले लामो आयु बाँचिन्छ भनेर।
-अरुबेला हामी बाँचेको हुन्नौ र? उसले फेरी प्रश्न राखी
-सँधैभरी हाम्रो मनले आफूखुसि रामाएर बस्न पाएको हुँदैन। त्यसैले हामी संधैभरी हाम्रो ज़िन्दगी बाँचेका हुँदैनौं। कुनै क्षण बाँचिरहेका हुन्छौं  भने धेरै क्षण बिताई रहेका मात्र हुन्छौं। मैले भाउक हुँदै जवाब दिएँ
– हो त नि सर बाध्यता बिनाको जिन्दगी कस्ले जिउन पाएको होला र यो संसारमा? उसले पनि भाउक अन्दाजमा मेरो कुरालाई समर्थन जनाई । अनि फेरी किन हो कुन्नि भनि
– आ !! छोड़िदिनुहोस् यी सब कुराहरु। हामीले यसरी कुरा गर्दैमा हाम्रो बाध्यताहरु हाम्रो जीवनबाट ओझेल हुने होइनन् । तेसैले आफ्नो काम गरौं। तरकारी किन्न आउनुभा होइन?  सधैं झैं आजपनि उस्ले हृदयको घाउमा यथार्थको मलमपट्टी लगाई ।
तरकारी किन्नमा उस्ले सघाई। सघाई के भन्नु तरकारी छान्ने, मोलतोल गर्ने सबै उसैले गरि। मैले मात्र पैसा दिएँ। मैले उस्लाई आज पनि उसको घरसम्म लिफ्ट दिने आग्रह गरें।
– तपाइँ मेरो घरमा चिया पिउने गरि जाने हो भने मात्र म तपाइसँग जान्छु। नत्र म रिक्शा लिएर जान्छु। उ जस्ती किशोरीले आग्रहमा अलिकती घुर्की पनि मिसाएर बोलेपछि मैले यसपल्ट नाइँ भन्न सकिन I उस्लाई फ्रंट सिटमा बसाएर मैले गाड़ी उस्को घरतर्फ दौड़ाएं।
गुरुंग बस्तीको एउटा चेपारो गल्लीमा दुई तले घर। घरको माथिल्लो तलाको पछिल्लो भागको दुईवटा सा साना कमरा। सेतो रंग पोतिएको कमराको एउटा कुनामा सोफ़ा आकारका तिनवटा बेतका कुर्सी र बीचमा बेतकै सेंटर टेबल। छेउमा एउटा सोकेश जस्तै देखिने सेल्फ। त्यसभित्र तिनचारवटा ट्रॉफी, दुई तिनवटा सर्टिफिकेट्स र केही फ्रेम गरिएर राखिएका तश्वीरहरु। अर्को कुनामा एउटा खाट जसमाथीको पातलो बिछौनामा तनक्क पारेर ओछ्याईएको फुलबुट्टे तन्ना। यस्तै थियो कमराको हुलिया।
मलाई उस्ले ‘बस्नुहोसन’ भन्दै कुर्सितर्फ ईसारा गरी र ‘एकैछिन है’ भन्दै भित्रको कोठामा पसी। आमासंग होला, के के गुनगुन गरी, र बाहिर निस्किएर मलाइ भनि । ‘आमाले दबाई खानु भयो की भएन भनेर हेरेको। आफै खानु भएछ आज। कहिले काहीं बिर्सिनुहुन्छ।’
‘आमालाई म पनि आज भेटेर जान्छु’ भन्दै म उठें । उ अकमक्क परी। केही बोल्न खोजी तर फेरी रोकी आँफैलाई।
म भित्र पसें।
कमराको एक छेउमा देवलमा टँसाएर राखिएको बिछौनामा सुतिरहेकि थिइन वृद्ध महिला। ६०/६५ को उमेर हिँडेको हुनुपर्छ त्यों लम्पसार ज्यानले। यस्तै अड़कल गर्दै थिएँ। दगुर्दै सिमरनले एउटा मूढ़ा ल्याएर दिई बस्नलाई।
बिछौनाको छेउमा सानो टेबलमाथि धेरै औषधीका पत्ताहरु असरल्ल छरिएका थिए। मेरा आँखा ‘आइसोनियाजिड’ ‘पैराज़ीनामिड’ ‘इथाम्बुटोल’ ‘केनामयसिन्’ ‘स्परफ्लॉक्सासिन’का पत्ताहरुमाथी दगुरे।
-टी बी कहिले डिटेक्ट भएको? सिमरनतिर हेर्दै सोधें।
-एक बर्ष भयो। तपाइँलाई कसरी थाह भयो टी बी भनेर? सिमरन छक्क पर्दै बोलि
हाम्रो आवाज सुनेर झकाएकी बूढ़ी आमाले बिस्तारो आफ्नो शीर बिछौनाबाट उठाईन् र मलाई राम्ररी हेरे जस्तो गरेर हाथ टेक्दै बस्ने कोशिश गरिन। सिमरनले दुवै कुममा समाएर ढाड़पट्टी सिरहानेको अढे़सा लगाएर  बस्न सजिलो पारिदिई।
-नानी को हो नि? मलाई हेर्दै सोधिन आमाले।
-म सिमरनको साथी आमा। मैले जवाब दिएं।
-ए!!ठूलो देखिनु हुन्छ त। के नाम तपाइँको? घर कहाँ हो?
-मलाई सबैले डा शर्मा भनेर चिन्दछन। यहीं प्रधान नगरमा बस्छु। सिमरनसंग भेट भएको भरखरै मात्र हो। मैले जती सक्दो छोटो परिचय दिएँ।
सिमरन आमा बसेकै बिछौनामा बसेकी थिई। अविश्वसनीय कुरा सुनेझैँ गरेर मलाई हेरी।
-तपाइँ डॉक्टर भनेर मलाई भन्नु भएको थिएन त। उस्ले छक्क परेको शैलीमा सोधी।
-तिमीले मलाई सोधेको पनि त थिएनौ। मैले सहज जवाब दिएँ।
उसको मुहारमा असहज भावका रेखाहरु देखा परे। शरीरमा छटपटाहट नाच्न थाल्यो।
‘म चिया बनाएर ल्याउँछु है त’ भन्दै उ उठी।
बूढ़ी आमालाई हेरें। अनुहारमा एनीमियाको (सरीरमा खूनको कमि हुँदाको स्तिथि) फुङ्ङ सेतो रंग। चाउरिनलाई तत्पर आँखाका वरिपरि मुजा पर्दै गरेका छाला। आधाआधी झरेर रहेको जीर्ण सेतो कपाल। नाड़ी हथकेला र औँलाका हाड़माथी उही मुजा पर्दै गरेको छालाको परत र त्यसभित्र दगुरेका छर्लङ्ग देखिने नसाहरु। क्षयरोगको क्रूर अपहरणमा परेको बूढ़ो सरीर जीर्ण र लाचार देखिन्थियो।
‘मनको बह सबैलाई कह’। मैले केही बोल्ने अघि बूढ़ी आमाले उनको मनको बह मेरो समुन्ने बहाईन।
‘टी बी लागेको एक बर्ष भयो नानी। पहिला छः महिना को दबाई दियो र निको हुन्छ भन्यो डॉक्टरले। पछि फेरी जाँचेपछि अझै एक बर्ष दबाई खानु पर्छ भन्यो। यसरी दबाई खाएर बस्नु भन्दा छिट्टै भगवानले बोलाए हुन्थ्यो। अरु केही होइन यो सिमरनको धेरै माया लागेर आउँछ। सानैमा बाउले टुहुरो बनाइदियो। पेशोक चिया कमानमा पत्ता टिपेर दुःख सुख तिनजनाको जीवन धेरै बर्ष कटायौं। इनेरु त्यहीँ हुर्किए। सिमरनले मेट्रिक त्यहीँ नाजिकको गाउँको स्कूलबाट पास गरि। अचानक कमान बन्द भयो। हाम्रो बिल्लीबाठ भयो। सिलिगुड़ीमा सानो भएपनि काम पाइन्छ भनेर कमानका धेरै केटा केटीहरु आए। सिमरन पनि जिद गरेर उनिहरुसँगै आई। भाइले मेट्रिक पास गरेपछि हामी सबैलाई उस्ले यहीँ बोलाई। घर भाड़ा, घर खर्च, भाईको पढ़ाइको खर्च,मेरो दबाई खर्च सब उसैले हेर्छे। भाइलाई राम्रो पढ़ाउनु पर्छ भनेर कलकत्ता एम ए गर्न पठाई। अब तेस्ले पनि यही बर्ष सक्छ अरे। सिमरनलाइ एउटा राम्रो केटा हेरेर बिया गरिदिन पाए म ढुक्कले मर्ने थिएँ। भाइले पढाई सकेपछि बिया गर्छु भन्छे भन्न चैं’।
मलाई ति बूढ़ी आमाको मुखबाट सिमरनको आत्मकथा सुने जस्तै लाग्यो। उस्ले कसैलाई नसुनाएको उस्को आत्माकथा। उस्ले सँधै मुस्कानको आली लगाएर  राखेको उसका तरल वेदना आज आमाको कारुण हृदयनहरबाट बगिरहेको थियो।
‘आमा तपाइँले यसरी हरेश खानु हुदैन। यो दबाइहरु नटुटाइकन खानुहोस् । तपाइँ निको भै हाल्नु हुन्छ ।अनि त्यसपछाड़ी धूम धामले सिमरनको बिया पनि हुन्छ। तपाइँ चिन्ता नागर्नुहोस्’। मैले सान्तवनाका यी वाक्यहरु एकै स्वासमा बोलें। बूढी आमाको फुङ्ङ सेतो अनुहारमा केही उज्यालो लालित्य देखा पर्यो।
‘चिया रेडी भयो सर। उतै बसेर पीऊँ है’? भन्दै सिमरन मलाई बाहिरपटिको कमरामा जाने आग्रह गर्न आई।
हामी बाहिरको कमरामा गयौं। बूढी आमा बिछौनामा ढलकी रहनुभयो।
चिया पीउँदै  गर्दा मेरो नजर अलिक पर राखिएको सेल्फभित्र दगुर्दै पुग्यो र भित्रको एउटा सर्टीफिकेटमा पुगेर टक्क रोकियो। ‘इंदिरा गांधी नेशनल ओपन यूनिवर्सिटी’ । ‘सिमरन छेत्री’।’ बेचेलॉर ऑफ़ आर्ट्स’।’2010’। धेरै सा साना वाक्यहरुका बीचमा बोल्ड अक्षरमा लेखिएका यिनै वाक्यहरु मात्र मेरा चश्मा भिरेका आँखाले देखे । सर्टिफिकेट्ले आफ्नु सम्पूर्ण परिचय तिनै तिनवटा बोल्ड अक्षरले लेखिएका वाक्यहरुद्वारा दिई रहेको थियो। ति साना अक्षरले लेखिएका वाक्यहरुलाई पढ़ी रहन जरुरी भएन।
केही दिन अघिदेखि मेरा आँखासंग परिचित भएकी सिमरन आज मेरो मनसंग पनि चिर परिचित भएकी थिई। बारमा मिनिस्कर्टको फेर तिघ्राबाट तल तान्दै गरेकी सिमरन। स्टेजमा असजिलो नाच नाचिरहेकि सिमरन। कैफ़ेको ऐनामा देखिएका ति दुई किशोरहरु। सिमरनको निकेश। कलकत्तामा पढ्दै गरेको उसको भाई। बिछौनामा लम्पसार बूढी आमा। असरल्ल छरिएका टी बी का औषधीका पत्ताहरु। सेल्फ़मा फ्रेम गरेर सजाइएको उस्लाई धेरै मिथ्या सपनाहरु देखाउने त्यों डिग्री सर्टिफिकेट। र मेरो छेवैको कुर्शिमा बसेकी सिमरन जस्लाई मैले सँधै हाँस्दै, सपनाका रेशाहरुलाई  बुन्दै जिन्दगीको ठिहीलाई ढाकने कुनै न्यानो बर्को बनाइरहेकी मात्र देखें। उस्ले गुनासो रोएको कहिले सुनिन मैले।
घडिको काँटाले छ:बजेको ईसारा गरेको रहेछ। म घर जान भनेर उठें। ‘ला मलाई पनि आज ढिलो भएछ’ भन्दै सिमरन बसेको कुर्शिबाट जुरुक्क उठी।
-तिमी कहाँ जान्छौ?
-आज शनिबार। बार छिट्टै पुग्नु पर्छ। उस्ले साउति मार्दै भनी।
-मै पुर्याइदिन्छु तेसोभए तिमीलाई। मैले भने।
-मेरो लागि 5 मिनट वेट गर्नुहुन्छ?
-ल छिटो गर। म वेट गर्छु।
नभन्दै उ छिट्टै तैयार भएर निस्किइ।
बूढी आमालाई बिदा मागेर हामी दुवै निस्कियौं।
‘को संग परिचय भयो भनेको त डॉक्टर साहब संग पो भएछ’। अनुहारमा जिस्किएको भावलाई नाचाउँदै उस्ले भनी।
‘मैले पनि त एउटी बार डान्सर संग परिचय गरें भनठानेको थिएँ तर झुक्किएर तिमीसित पो भएछ’।मैले हाँसदै उस्लाइ जवाब दिएँ।
उस्को मुखबाट खित्का छुट्यो। हामी दुवै हाँस्यौं।
‘बियामा मलाई बोलाउँछौं होला नि’? मैले उस्को मन चोर्न खोजें।
‘कार्ड छपाएर ल्याएको दिन सबैभन्दा पहिलो कार्डमा तपाइँकै नाम लेखौंला न हुन्न र’? उस्ले जस्ताको तस्तै उत्तर दिई।
हामी फेरी हाँस्यौं।
सेवोक रोडमा उसको गंतव्य स्थान आई पुगियो।
‘आज आउनु हुन्न साथी संग बारमा’? उस्ले मेरो मन चोर्न खोजकी हो या त साँच्चै सोधेकि हो थाह भएन। मैले टाउको हल्लाउँदै ‘आँउदिन’ भने।
उ मुस्कुराउँदै कारबाट बाहिर निस्किइ।
‘ घर त देखि हाल्नु भयो। आउँदै गर्नुहोस् है’ भन्दै हाथले ‘बाई बाई’को इशारा गर्दै उ गई।
म आफ्नो घर फर्किएँ।
                             ++
जन्म र मृत्यु, यी दुई दृड़ स्तम्भबिच सेतो मसिले कोरिएको धर्को हो हाम्रो जिन्दगी। यही धर्कोमाथी लेखिएका अक्षरहरु,शब्दहरु,यसमा पोतिएका रंगहरु, कुँदिएका आकारहरु, अल्पबिराम र पुर्नबिराम हाम्रा प्रतिबिम्बहरु हुन। जीवनको प्रतिबिम्ब, जस्ले हामीलाई समाजसंग परिचय गराउँछ। जसद्वारा समाजले हामीलाई दृष्टिगोचर गर्छ। यो सेतो धर्कोमाथी हामी सबै राम्रा अक्षरहरुले राम्रा राम्रा शब्दहरु लेख्न चाहान्छौं। विभिन्न रंगहरुले राम्रा राम्रा चित्र बनाउन चाहान्छौं। यसलाई राम्रो कलाले कुँदेर अमिट आकर दिन खोज्छौं। राम्रो लेख्न सक्नेहरु,सुन्दर चित्र बनाउन सक्नेहरु, मनोचित आकर दिन सक्नेहरु सफल हुन्छन्। भाग्यमानी ठहरिन्छन्। नसकनेहरु असफल, अभागी हुन्छन्।
सिमरनसंग अन्तिमपल्ट भेट भएको चार महीना पुगिसकेको थियो। अन्तिमपल्ट फोनेमा बात भएको नै तिन महीना भएको थियो। धेरै दिन अघि उसको डेरामा गएको थिएँ। उनिहरु केहिदिन अघि डेरा छोड़ेर गएको थाह पाएँ। धेरै पल्ट फोनमा सम्पर्क गर्ने चेष्टा गरें । ‘स्विच ऑफ’ पाएँ।
उ मेरो हृदयमा सहजै बस्न सकेकी थिई। यसरी सहजै हृदयमा बसेका मानिसहरुलाई हाम्रो हृदयले उतिकै सहज रुपले बिर्सन नसक्दो रहेछ। मेरो विस्मित मनले पटक पटक आई रहने उस्को स्मृतिलाई मुलढोका बाहिर राख्न सकेन। सँधै आफूसँगै राख्यो। आमाले आफ्नै नानीप्रति रिसाएको भाव प्रकट गरे झैं गर्दै राख्यो।
बेलुकी खाना खाए पश्चात आफ्नो अध्ययन कक्षमा बसेर लैपटॉपमा फेसबुक लॉग ऑन गरें। स्क्रीनको एक कुनामा ‘फ्रेंड रिक्वेस्ट आइकॉन’ ताराहरु माझको ध्रुब झैं देखा पर्यो। क्लिक गरें। लेखिएको थियो ‘सिमरन छेत्री सेंड्स यू अ फ्रेंड रिक्वेसट’। मैले ‘एक्सेप्ट’गरें।
‘सिमरन छेत्री’
‘वर्क्स एट सेल्फ एम्प्लॉयड एंड डान्सर’
‘लिव्स इन कोलकाता’
फेसबुक पेजमा क्रमसंग लेखिएको उस्को विवरण यस्तै थियो।
मेसेज बॉक्समा मेसेज लेखें।
“हाई सिमरन!!! होप एवरीथिंग इज़ फाइन विथ यू।
मलाई थाह नदिइ सिलिगुडी छोड़ेर गाएछौ त। एंड बाय द वे मलाई निम्तो दिन तिम्रो त्यो पहिलो कार्ड आजसम्म आई पुगेको छैन । अझै प्रतिक्षामा छु।
टेक केअर
केहिदिन पछि उसको रिप्लाई आयो।
“हेलो सर!!
सिलिगुड़ीलाइ अचानक छोड़ेर आउनु मेरो इच्छा नभएर बाध्यता थियो।
तपाइँसंग भेट भएको केही महीना पछि मामा आमालाई भेट गर्न भनेर हामिकहाँ आउनुभयो र “केही दिनका लागि दिदिलाइ लिएर जान्छु। गाउँको हावापनिेले दिदिलाइ राम्रो पनि गर्छ” भन्नुभयो। आमाले पनि जाने इच्छा गर्नुभयो र मामासँगै आमालाई बिजनबारी मामाको घरमा पठाएं।
केही दिनपछि एकाबिहानै मामले मलाई फ़ोन गरेर बिजनबारी बोलाउनुभयो। मैले के भयो भनेर जिज्ञाँसा गर्दा “केही होइन राति अलिक सन्च भएन र तिमीलाई खिज्दै हुनुहुन्छ” भन्नुभयो।
म आमालाई केही थप दबाई र खानेकुराहरु लिएर गएँ।
मामाको घरमा पुगेपछि थाह पाएं आमा त रातीनै हामीलाई छोड़ेर परलोक गई सकनुभएको रहेछ। आमाको निर्जीव शरीरलाई अंकमाल गरेर रोएँ।
मलाई सबै भन्दा धेरै माया गर्ने मेरी आमाले नै मलाई छोड़ेर जानु भएछ।
तेर्ह दिनको कार्य मामाकै घरमा गर्ने निर्णय भयो।
हाम्रो आफ्नो घर भन्ने पनि त केही थिएन।
धेरै मान्छेहरु आएका थिए। मेरा साथिहरु पनि आए।
तेर्ह दिनमा मैले मामा माईज्यू र भाईमा म प्रतिको ब्यवहारमा धेरै परिवर्तन देखें। हामीबिच दोहोरो बार्ता धेरै कम हुन थाल्यो। मैले केही बोल्न खोज्दा उनिहरु असहज मह्सुश गर्थे। मैले के बिराऐंछु भन्ने ग्लानिले मलाई पिरोल्न थाल्यो। एकदिन सबैजना साथै भएको बेला कोरामा बसेको भाईलाई सोधें। उस्ले मलाई  नहेरि रिसाएर जवाब दियो ” मलाई किन सोध्नुहुन्छ दिदी? गाउँलेलाई सोध्नुहोस। गाउँभरी चर्चा छ तपाइँ सिलिगुड़ीमा के काम गरेर बस्नु हुन्छ भनेर। तपाइँले गर्दा आज हामीलाई गाउँलेहरुको आघाड़ी नजर झुकाउनु पर्दैछ। तपाइँ संगसँगै मेरो इज्जतलाई पनि तपाइँले बारमा नाचाईरहनु भएको रहेछ। कहिले काम सकेर गाउँबाट भाग्नु जस्तै भएको छ मलाई”।
मामा माईज्यू दुवै केही नबोली उठ्नुभयो।
मैले भाइलाई हेरी रहें। उस्ले मलाई हेरेन। मैले केही बोल्ने अघाड़ीनै मेरा ओठहरु थाकिसकेका जस्ता भए। लरबराए मात्र। बोली बोलेनन्।
राती ढल्केर पेशोक कमानमा भाईसंग बिताएका पलहरुलाइ सम्झेँ। बारमा धेरै ‘टिप्स’ बटुल्नका निम्ति सके सम्म धेरै ग्राहकहरुको सेवा गरेको क्षणहरुलाई सम्झेँ।  महिनाभरी जमा भएको टिप्सलाई गन्ति गर्दा भाईलाइ पठाउने रकम तेसैले पुग्ने भएपछि हृदय रामएको त्यो क्षणलाई समझेँ। आमालाई समझेँ। रुन मन लाग्यो। रोएँ। कसैलाई नसुनाइकन आँफैले मात्र सुनिने रोएँ। रातभरी ननिदाई रोएँ। निदाउनलाई केही क्षणका निम्ति सबैथोक बिर्सनु पर्ने रहेछ। मलाई सबै थोकको याद मात्र आयो।
तेरहदिने कार्य सकियो। मलाई मामाघर बस्न मन लागेन। आखिर मेरी आमाको सम्झना आउने सबै थोक सिलिगुड़ीमै थियो। भोलिपल्टै सिलीगुड़ी आएँ।
बिजनबारिमा हुँदा निकेशसंग धेरै पल्ट फ़ोनबाट सम्पर्क गर्न खोजेको थिएँ। सम्पर्क हुन सकेको थिएन। उस्लाई भेटेर म बृत्तांत सुनाउन चाहान्थें। उसको अंकमालको न्यानो बन्धनमा मेरो हृदय पगालेर रुन चाहान्थें। उस्लाई भेट्न शिवमंदीर उसको डेरा भएतिर गएँ। उस्लाई त्यहाँ भेटिन। उ केही दिनको विदा लिएर घर गएको रहेछ। मैले ह्रदय पगालेर रुन पनि पर्खिनु पर्ने भयो। पर्खिएँ।
भोलिपल्ट मेरो मोबाइलमा एउटा मेसेज आयो। निकेशको रहेछ।
‘डिअर सिमरन!!
म हालमा घर आएको छु। आमा बाबाले मेरो विवाह विषय छलफल गर्न बोलाउनु भएको थियो। हाम्रो सम्बन्धलाई उहाँहरुको समुन्ने खड़ा गर्नु भन्दा अघि मैले हाम्रो सम्बन्धबारे धेरै चिन्तन मनन् गरें। मानिसको जीवन केवल मायाको घुट्कि पिएर मात्र जिउन सकिन्न। यसलाई राम्रोसँग जिउनका निम्ति बिभिन्न भौतिक र सामाजिक आश्रयको खाँचो पर्दछ। तिमिसंग जीवन बिताउँदा मैले धेरै धेरै माया पाउनेछु होला तर भौतिक र सामाजिक तहमा हामीमाझ धेरै असमानताहरु छन् र भविष्यमा पनि बनि रहनेछन। हाम्रो जिन्दगी तिनै असमानताहरुलाई चिल्ल्याउँदै बित्ने छ। म यस किसिमको जिन्दगी बिताउन चहान्न। मायाको भावनात्मक अँगालो मात्र होइन जीवन जिउन व्यावहारिक छानोको पनि उतिनै आवश्यकता पर्दछ। सिमरन मलाई माफ़ गरीदेउ। म यो जुनीमा तिम्रो भएर बस्न सक्दिन। बाबा आमाले हेर्नु भएको केटीसंग मेरो भोली इंगेजमेंट हुँदैछ। तिमिसंग बिताएका क्षणहरुलाई मेरो स्मृतिको मन्दिरमा सजाएर राख्नेछु।
भगवानले तिमीलाई सँधै ख़ुशी राखुन्।
बाई।
निकेश।’
तपाइँले एक दिन भन्नु भएको थियो जीवनमा सँधैभरी साथ दिने हाम्रो कोई हुदैन भनेर । मलाई तपाइँका ति सोचहरु मिथ्या लाग्थ्यो। तर कति यथार्थ बोकेका रहेछन् तपाइँका ति वाक्यहरुले। मलाई मेरा आफ्ना आँखाले देखेका सपनाहरुमाथि धेरै विश्वास थियो। तेसैले मैले आफ्नो हैसियतले भ्याएअनुसार सपनाहरुलाई संगालें। तिनै सपनाहरुलाई जीवन बाँच्ने सार बनाएं । सपनाका तिनै पुलहरु हिँडेर जिन्दगीका गहिरा खोल्सा र नदीहरु तर्ने मन बनाएं। तर आज ति सपनाहरुले मेरो साथ छोड़े। कति निजी र कति प्यारा थिए ति मेरा सपनाहरु!!
सबै भताभुङ्ग भएपछि सिलिगुड़ीलाइ सदाको निम्ति बिदा दिएँ। कलकत्ता आएँ । एउटा ठूलो होटलको बारमा काम गर्दैछु। तपाइँ भन्नुहुन्थियो ” हामी आंफैले पनि हाम्रो साथ दिन सक्दैनौ । हाम्रो मन के के गरौं भन्छ तर तनले अर्कै के के गरीरहेको हुन्छौं”। ति सबै कुराहरु सार्थक रहेछन्। तपाइँका तिनै कुराहरुले तपाइँको याद गराइरहन्छन्।
तपाइँ कलकत्ता आउँदा अवश्य भेट गर्नु हुनेछ भन्ने पूर्ण विश्वाश राखेको छु। मेरा हालैमा खिचेका केही तश्वीरहरु पठाउँदैछु। हेर्नुहोला।
बाई।टेक केअर।
सिमरन।”
दुईवटा तश्वीर पठाएकी थिई उस्ले।
प्रथम तश्वीरमा मिनीस्कर्ट र स्लीवलेस टॉप्स लगाएकी र निर्धक्क स्टेजमा नाची रहेकी सिमरन।
अर्को तश्वीरमा तेही पोशाक लगाएकी सिमरन धेरैजाना तन्नेरी केटाहरुसंग बसेकी थिई र सबैका गिद्धका जस्ता आँखाहरु उसका सरीरभरी टाँसिएका थिए।
मैले ल्यापटप बन्द गरें।आँखा बन्द गरेर बिस्तरामा ढल्किएँ। क्याफेको ऐनामा सिमरनले देखाएका ति दुई किशोरहरुको तश्वीर मेरा आँखामा आज अन्तिमपल्ट बस्न आएका थिए।।
                           +++

सम्बन्धित

ताजा अपडेट
रौतहटमा स्कारपियो दुर्घटना हुँदा ८ जनाको मृत्यु, पाँच जना घाइते
सहकारी ठगीमा रवि र छविलाई वीरगञ्जमा बयान लिइँदै
देशभर पश्चिमी वायुको प्रभाव, तराई तथा उपत्यकामा हुस्सु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल