सुनसरी २३ असोज ।
पटका तथा बारुदजन्य वस्तुको ओसार–पसारमा रोक लगाएता पनि लुकाई छिपाई यस्ता वस्तुहरुको तस्करी हुने गरेको छ । चाडपर्व नजिकिए संगै पटका तस्करीको घटना बाहिर आउन थालेका छन् । सुनसरीको ईटहरीबाट प्रहरीले पटका सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी श्रीपुरका २७ बर्षीय समिर मिया र १९ बर्षीय आलम मिया छन् ।
विशेष सुराकीका आधारमा खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ । प्रहरीले बोरा तथा कार्टुनमा लुकाई छिपाई विक्री गर्न लागिएको पटका सहित उनिहरुलाई नियन्त्रणमा लिएको थियो । उनिहरुबाट SRIVIJAI-COBRA नामको ६७ बण्डल पटका बरामद भएको छ ।
पटका सहित पक्राउ परेका दुवै उपर थप अनुसन्धान तथा कानुनी कारवाही अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।