Birat Post बुधबार, फाल्गुण २६, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौँ २६ फाल्गुन ।

महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा आउने धर्मानुरागीहरुका लागि सहजरुपमा दर्शन गर्ने व्यबस्था मिलाउन आवश्यक प्रबन्ध गरिएको छ । जसका लागि स्वंयसेवक सहित सुरक्षा व्यबस्था मिलाइएको छ । भोली फाल्गुन २७ गते बिहिबार  शिवरात्रि मनाइदै छ । विगत वर्षमा जस्तै यसपटक पनि दर्शनका लागि विशेष पासको व्यवस्था गरिएको छैन । दर्शन गर्न चाहनेले लाइनमै बसेर मन्दिर प्रवेश गर्नु पर्नेछ । वृद्धवृद्धाका लागि भने स्वयंसेवकबाट छिटो दर्शन गराउने व्यवस्था मिलाइएको बताइएको छ ।

पशुपतिनाथ मूल मन्दिरका चारै ढोका महाशिवरात्रिका दिन बिहान चार बजेदेखि नै खोलिने छ । बिहान चार बजेदेखि राति दर्शनार्थी नसकिएसम्म पशुपतिनाथका चारै ढोका खुला गरिने कोषले जनाएको छ । कोरोना महामारी कायमै रहेकाले मास्क नलगाउने भक्तजनलाई मूल मन्दिर क्षेत्रमा प्रवेश निषेध गरिएको छ । मूल मन्दिरभित्र प्रवेश गरेर दर्शन गर्न चाहने भक्तजनले अनिवार्य मास्क लगाउनुपर्ने सूचना टास गरिएको छ । यस्तै शिवरात्रिको अवसरमा देशभरका शिवालयहरु सजाउने काम भइरहेका छन् ।

शिवरात्रिको महत्व

महाशिवरात्रि हिन्दुहरूको प्रमुख चाड हो । महाशिवरात्रि भगवान शिव र आद्यशक्तिको आराधना गर्ने मुख्य पर्व हो । भगवान शिवका गणहरू नाग, नन्दी, भृंगी, चौसठ्ठी योगिनी, क्षेत्रपाल, वेताल, महाकाली, वीरभद्र आदिको आह्वान पूजा गरेर महाशिवरात्रि पर्व मनाइन्छ । महाशिवरात्रि पर्व देशभरका शिवालयमा भगवान शिवको पूजा अर्चना र रुद्राभिषेक गरी मनाइन्छ । शिवको पूजा रात्रिको समयमा गरिन्छ । जवकि दिनमा पनि व्रत, उपवास गरेर रात्रिकालीन समय भगवान शिवको पूजा गर्ने विधान छ । भगवान शंकर सत्व, रज तथा तम तीनै गुणभन्दा माथि मानिएकोले संहार शक्तिका अधिष्ठातृ देवता हुन । त्यसैले अन्धकारयुक्त रात्रि शंकरजीलाई प्रिय लाग्नु स्वाभाविक देखिन्छ । यो हिन्दू धर्मावलम्विहरूका लागि प्रमुख पर्व मानिन्छ । शिवलाई वैदिक दर्शनले महान् आत्मा मानेको छ । शिव चिन्तन भन्नु अन्तरदेखि देखिने साक्षात्कार दृश्य झल्झली देखिनु हो । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रि मध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा उल्लेख छ । विभिन्न नामले पुकारिने शिव प्रादुर्भाव भएको दिनका रुपमा शिवरात्रि मनाउने परम्परा चलिआएको हो ।

वैदिक मन्त्रहरुमा रुद्र, श्रीपशुपति महाशिव, महादेव, आशुतोश, अघोर, सद्योजात, वामदेव, तत्पुरुष, ईसान रुद्र आदि नामहरुबाट चारै वेदका ऋचाहरुमा भगवान् शिवको स्तुति गरिएको छ । वैदिककालीन सभ्यता नक्षत्र कालगणना अनुसार तीस हजार वर्षभन्दा पनि पूर्व अन्वेषकहरुले मानेका छन् । ज्योतिषशास्त्रअनुसार फाल्गुण कृष्ण त्रयोदशी र चतुर्दशीको सन्धि रात्रि ‘महाशिवरात्रि’ हो । यसकारण क्षयपूर्ण तिथि अमावश्याको अन्धकारको दुष्प्रभावबाट बच्नका साथै मानव जीवनमा ज्योति, शान्ति, समृद्धिका लागि एक दिन पहिले अर्थात् त्रयोदशीको रात्रिमा शिवजीको उपासना गर्ने परम्परा राखिएको हो । हरेक महिनाको त्रयोदशीको रात्रिलाई महाशिवरात्रि मानिदैन तर शिवको आराधना गर्ने रात्रि भने मानिन्छ । भाद्रकृष्ण अष्टमी अर्थात् श्रीकृष्ण जन्माष्टमीलाई मोहरात्रि, असोज शुक्ल अष्टमी र नवमीको रातको सन्धिलाई कालरात्रि तथा तिहारको लक्ष्मीपूजाको रात्रिलाई सुखरात्रिका रुपमा मनाउने परम्परा हिन्दू धर्मावलम्बीमा छ । फागुन कृष्ण चतुर्दशीका मध्यरातमा महाशिवरात्रि पर्व मनाउने शास्त्रीय विधान रहेको छ । वैदिक सनातन धर्मावलम्बीले वर्षमा मनाउने चारवटा रात्रिमध्ये शिवरात्रि पनि एक हो । शिवले अवतार लिएको रातलाई नै शिवरात्रि भन्ने गरिएको विश्वास गरिन्छ ।

महाशिवरात्रिका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीन, दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ । व्रत उत्सव मध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा-अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी ऊँ नमः शिवाय मन्त्र जप्ने गरेमा सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ ।

सम्बन्धित

ताजा अपडेट
निर्वाचन नजिकिँदै जाँदा शक्ति निर्माणको प्रतिस्पर्धामा नयाँ तथा पुराना दलहरु
जाँचबुझ आयोगमा बयान दिन जाने निर्णयमा पुगेको कांग्रेस नेता रमेश लेखकको भनाइ
विराटनगरमा जारी “विराट ट्रेड एक्स्पो”मा उपभोक्ता तथा दर्शकको चहलपहल बढ्यो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल