काठमान्डौं,३० भदौं ।
मनसुन सकिन अझै एक हप्ता बाँकी छ । सेप्टेम्बर २३ तारिख ९असोज ७ गते० सम्म मनसुन रहने गर्छ । मनसुन सकिँदै गरे पनि वर्षाको क्रम भने रोकिएको छैन । दैनिकजसो देशका विभिन्न स्थानमा वर्षा भइरहेकै छ । यो क्रम अझै जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आगामी तीन दिनको पूर्वानुमान बुलेटिन जारी गर्दै शुक्रबारसम्मै वर्षा हुने जनाएको छ । महाशाखाले देशभर बुधबार सामान्य बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।
नेपालमा भारतको छत्तीसगढ र मध्यप्रदेश आसपासमा अवस्थित न्यूनचापीय क्षेत्रको सामान्य प्रभावका साथै मनसुन न्यूनचापीय रेखा औषत स्थानभन्दा दक्षिणतर्फ रहेकाले मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ । मौसमविद् गङ्गा नगरकोटीले उक्त प्रणालीको प्रभावका कारण अबका तीन दिन देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइन् ।